स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ का बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने योजनामा सरकारले काम गरिरहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा समय लिएर बोल्दै राज्यमन्त्री श्रेष्ठले कोभिड बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने योजना रहेको जानकारी दिएका हुन् ।
महामारी रोकथाम र नियन्त्रणमा सरकारको सर्वोच्च प्राथमिकता रहेको उनले बताए ।
अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको उनले जानकारी दिए ।
उनका अनुसार असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको थियो ।
नयाँ सरकार गठनपछि ७५ लाखलाई खोप लगाइएको उनले बताए ।
दैनिक डेढ लाखदेखि दुई लाखजनालाई खोप लगाइरहेको उनले जानकारी दिए ।
असोज मसान्तभित्र भुटानबाट समेत एक करोड आठ लाख डोज खोप प्राप्त हुने उनले बताए ।
३३ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवाको सुधार र विस्तारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गरिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
१५, १६ वटा जिल्लामा बढी संक्रमण भएकाले ती जिल्लामा खोपको विशेष व्यवस्था गरिने उनको भनाइ छ ।
एक साताको आँकडा हेर्दा संक्रमण दर फेरि बढ्दै गएको देखिने उनले बताए ।
विद्यार्थीहरूलाई किशोर–किशोरी लक्षित फाइजर र मोडर्ना खोप लगाइने उनले जानकारी दिए ।