logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय


अंकुरण खबर
2.678K
Shares

सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए।

बैठकले संविधान दिवसका अवसरमा आम नागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थितिमा मात्र दिवसको मूल समारोह मनाउने निर्णय भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।