logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीमा अझै मिलेन कुरा, सर्लाहीमा चुनाव हुँदै


अंकुरण खबर
741
Shares

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

काँग्रेसको विधान अनुसार क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनु पर्नेमा प्रदेश २ का विभिन्न जिल्लामा अझै क्षेत्रीय अधिवेशन हुन सकेको छैन । महोत्तरीको क्षेत्र नम्बर ३ मा रामचन्द्र पौडेल पक्षले धाँधली गरी अधिवेशन गराएको भन्दै केन्द्रले त्यसलाई रद्द गरेको थियो । त्यहाँ पुनः अधिवेशन हुने भएको छ । बुधबार महोत्तरीमा उत्पन्न विवाद मिलाउन नेताहरु छलफल गरिरहेका छन् तर पनि अझै कुरा मिलेको छैन,’ जिल्ला सभापति महेन्द्र यादवले बताए ।

रामचन्द्र पौडेल पक्षले पिप्राको रामनारायण उच्च माविमा अधिवेशन गर्नुपर्ने अडान लिएको छ भने शेरबहादुर देउवा पक्ष जलेश्वरमा अधिवेशन हुनुपर्ने अडानमा छ । यस अघि पिप्राको रामनारायण उच्च माविमा अधिवेशन हुँदा धाँधली भएको थियो । पुनः त्यही ठाउँमा अधिवेशन गर्नुपर्ने अडान पौडेल पक्षको छ, जसमा देउवा पक्षले सहमति जनाइरहेको छैन ।

बुधबार सर्लाहीको क्षेत्र नम्बर ४ मा अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर १, २ र ३ मा अधिवेशन भइरहेको छ । त्यसको परिणाम साँझसम्म आइपुग्ने जिल्लाका काँग्रेस सभापति नागेन्द्र राय यादवले बताए । प्रदेश २ बाट हालसम्म ७५७ जना, सप्तरीबाट १०४ जना र केन्द्रीय प्रतिनिधि चुनिएका छन् भने सिरहाबाट १०५, धनुषाबाट १०४, महोत्तरीबाट ७८ जना केन्द्रीय प्रतिनिधि आएका छन् ।

महोत्तरीको क्षेत्र नम्बर ३, सर्लाहीको क्षेत्र नम्बर १, २ र ३ को महाधिवेशन प्रतिनिधि चयन गर्न बाँकी नै छ । रौतहटबाट १०७ जना, बाराबाट १०४ र पर्साबाट १०३ जना चुनिएका केन्द्रीय प्रतिनिधि चुनिएका छन् । सर्लाहीमा मंगलबार सम्पन्न क्षेत्र नम्बर ४ को अधिवेशनबाट २६ जना प्रतिनिधि चुनिएका छन् जसको तथ्यांक केन्द्रीय कार्यालयलाई प्राप्त भएको छैन । काँग्रेसको विधान अनुसार क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनु पर्ने छ ।