सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि नजिक पुगेका छन् ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल विद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनल प्रवेश गरेको हो ।
फाइनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २–० को अग्रता लिए । विकासले विद्युत्का दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले विद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए ।
तेस्रो खेलमा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।
यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले विद्युत्का शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो ।
काठमाण्डौं ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाण्डौं जिल्ला ब्याडमिन्टन सङ्घको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आइल कर्पोरेसन र नेपाल टेलिकमबीच भएको खेलमा टेलिकमले बाजी मार्दै फाइनलमा सिल्कसँगको भेट पक्का गर्यो ।
पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आईल कर्पोरेसनका विष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पुर्याए । दोस्रो खेलमा आईल कर्पोरेसनकी रसिला महर्जनले टेलिकमकी सीमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याइन् ।
तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेसनका लक्ष्मण विश्वकर्मा र राम विश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।
चौथो खेलमा आईल कर्पोरेसनका रसिला महर्जन र शर्मिला कटुवालको जोडीले टेलिकमका जे।टी।गुड्डी कार्की र सीमा राजवंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्याए ।
पाँचौँ तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेसनका राम विश्वकर्मा र विष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाइनल यात्रा तय गर्यो । फाइनल शुक्रबार दिनको १ बजे हुने कार्यक्रम रहेको छ ।