logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुमबहादुर स्मृति टेबल टेनिस :दीक्षा र स्यान्टुलाई स्वर्ण


अंकुरण खबर
741
Shares

नेपाल एपीएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

दीक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।

द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मञ्जु सुवालले १०र१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यूथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष उपाधि जितेका हुन् । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले द्वितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका सेनाका दीप साउन र एपिएफका संयोगक कपालीले नगद १०र१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुस १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगितामा तीन विभागीयसहित २८ जिल्लाका एक सय २० खेलाडीहरू सहभागी भएका थिए ।

समापन कार्यक्रममा पूर्वमन्त्री, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानीमा बढाउन नसकेको बताए । ‘खेलकुदको विकासमा राज्यको लगानी निकै कम छ,’ उनले भने,‘केही निजी क्षेत्रका कारण थोरै भए पनि खेलाडी र खेलकुदको विकास भएको छ ।’

उनले विश्वभरी राष्ट्रको झण्डा फहराउने, देशको इज्जत राख्ने खेल क्षेत्रका गतिविधिहरू पलायन हुँदै जाँदा खेलाडीहरू खिया लागेको हतियार जस्तै भैसकेको बताए । ‘खेलकुदका माध्यमबाट खेलाडीले नेपाललाई विश्वमा चिनाएका छन्,’ उनले भने,‘तर खेलकुदमा राज्यले लगानी गर्न सकेको छैन ।’

उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई ‘यूथ क्लब’ले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए । खेल क्षेत्रको पछिल्लो अवस्था दयनीय बन्दै गएको अवस्थामा खेलकुदका गतिविधिहरूलाई व्यापक रूपमा अगाडि बढाउन जरुरी रहेको उनको धारणा छ ।

एक वर्ष भित्रमा कांग्रेस खेलकुद विभाग, लोकतान्त्रिक खेलकुद सघंले देशभरी खेलकुदका प्रतियोगिताहरू व्यापक रूपमा अघि बढाउने निर्णय गरेको हुँदा त्यसले खेलकुद क्षेत्रलाई चलायमान बनाउन सघाउने उनले बताए । यूथ अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । समापन कार्यक्रमको सहजीकरण किरण केसीले गरेका थिए ।