logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

एमाले अर्घाखाँचीको अधिवेशनमा असन्तुष्टि : तानाशाही शैलीमा नेतृत्व चयन गरेको आरोप


अंकुरण खबर
1.651K
Shares

नेकपा एमाले अर्घाखाँचीले सहमतिमा नेतृत्व चयन गरेको बताए पनि अधिवेशन सकिएसँगै असन्तुष्टिका स्वरहरु आउन थालेका छन् ।

नेता पिताम्बर भुसालको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेको नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनपछि केहीले पार्टी त्याग गरेका छन् भने केहीले सामाजिक सन्जालमा असन्तुष्टि जनाइरहेका छन् ।

एमालेले जिल्ला अधिवेशनलाई तानाशाही शैलीमा गरेका कारण असन्तुष्टि चुलिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए ।

‘म पनि निश्चत पदको उम्मेदवारी दर्ताको तयारीमा थिएँ’ ति नेताले भने, ‘तर उम्मेदवारी दर्ता गर्न नै दिइएन । ‘निर्वाचन गरिएको भए ७० प्रतिशत भन्दा बढी मत आफ्नो पक्षमा आउने दाबी उनको थियो । ‘तर चुनावी प्रक्रियामा जानै रोकियो, तानाशाही शैलिमा अधिवेशन सम्पन्न गरियो’उनले भने ।

अधिवेशन सकिएसँगै राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका युवा नेता गोविन्द भुसालले राजीनामाको घोषणा नै गरेका छन् । त्यस्तै नेता खुविराम आचार्यले जबरजस्ती खल्तीका मान्छे टिपेर अधिवेशनमा नाटक मन्चन गरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

पूर्व उपाध्यक्ष जिवनारायण कोइरालाले नेतृत्वमा दाबी गरेका थिए, भने पूर्व उपसचिव प्रेम गैरेले सचिवमा दाबी गरेका थिए । त्यस्तै आचार्यले उपसचिवमा उम्मेदवारी दिन चाहेका थिए । सहमतिको नाममा उनीहरुले उम्मेदवारी दर्ता गर्न पाएनन् ।

तर निर्वाचन मण्डलले भने कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरेको छ ।

‘कुनै पनि पदमा दोहोरो उम्मेदवारी परेन, दोहोरो उम्मेदवारी नपरेपछि निर्वाचनमा कसरी जान सकिन्छ र ?’ प्रतिप्रश्न गर्दै प्रमुख निर्वाचन अधिकृत केवि भुसालले भने ‘हामीले उम्मेदवारी दर्ता गर्न चाहनेलाई समय दिएका थियौं । तर निर्धारित समयसम्म कुनैपनि पदमा दोहोरो उम्मेदवारी परेन ।’