त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ ।
९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो लगातार जित हात पारेको छ ।
त्रिभुवन आर्मी क्लब यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । आर्मीले अहिलेसम्म ४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ ।
संकटा १४ अंकसहित चौथो स्थानमा छ र संकटाले आजै थ्रीस्टारसंग खेल्दैछ । ८ खेलबाट साविक विजेता मछिन्द्र एफसी २० अंक जोडेर शीर्ष स्थानमा छ ।
खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले बायाँ भागबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए भने ४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै २-० को अग्रता बनाएको हो । त्यसपछि ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज जित हात पारेको हो ।