logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको छ : अध्यक्ष निरौला


अंकुरण खबर
728
Shares

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने बताएका छन् ।

उदयपुरमा राष्ट्रिय भूमि आयोगको जिल्लास्थित समितिको कार्यालय स्थापना गरी जिल्ला समितिका अध्यक्षसमेतको पद बहाली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अघिल्ला आयोगले गरेका कामलाई निरन्तरता दिँदै अहिलेको आयोगले कार्य अगाडि बढाउने बताए ।

भूमिहीन,सुकुकुम्बासी र अव्यवस्थित बसोबासीसमेतलाई व्यवस्थित गर्दै मुलुकभरका करिब १४ लाख परिवारका लागि जग्गा व्यवस्थापन गर्ने तथा पुराना अधुरा कामलाई निरन्तरता दिएर थाति रहेका सबै काम गर्ने गरी आयोगले काम गरिरहेको उनले बताए ।

प्रारम्भिक अभिलेख अनुसार हाल मुलुकमा भूमिहीन दलित परिवारको सङ्ख्या दुई लाख ३२ हजार, सुकुम्बासी परिवार तीन लाख ३७ र अव्यवस्थित बसोबासीहरुको सात लाख ६५ हजार परिवार रहेको अध्यक्षले जानकारी दिए ।

ठूलो सङ्ख्यामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई कानुनी आधारमा व्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर मुलुकबाट सदाका लागि यो समस्यालाई निराकरण गर्नु निकै जटिल र चुनौतिपूर्ण काम भए पनि आफू यसमा कत्ति पनि बिचलित नभई काम गर्ने उनले बताए ।

जिल्लास्थित नापी, मालपोत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत, जिल्ला समन्वय समितिका अधिकृत र वन डिभिजन कार्यालय पदेन सदस्य रहने यो समितिलाई अन्य सदस्यको समेत मनोनयन गरी माघ मसान्तभित्र पूर्णता दिइने अध्यक्ष निरौलाको भनाई छ ।