शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् ।
आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । “अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ, मन्त्रीले भने, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”
तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिए ।
“स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्री पौडेलले भने, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।”
गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।
आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रह गरे । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए ।
बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए । “बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्य मन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु” मन्त्री पौडेलले भने, “त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनपर्यो ।”
बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सनाए ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको बताए । लागू औषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उनको भनाई छ ।
ढाकलले सीसीएमसीसीको निर्णय अनुसार माघमसान्तसम्म विद्यालय बैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिएको पनि बताए ।
कोभिडका कारण एक जनामात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्पोचार गरिरहेकाले जिल्लामा कोभिडको संक्रमण कम हुँदै गएको उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रे लागि काम भइरहेको जानकारी दिए ।
जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए ।