logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा ४ सय ६७ घर परिवारलाई लालपूर्जा वितरण


अंकुरण खबर
1.209K
Shares

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तिब्र बनाइएको बताएकी छन् ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै बास्तविक भूमिहिन कोही पनि भूमि प्राप्त गर्नबाट बन्चीत नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै चनाखो बन्नु पर्नेमा पनि जोड दिईन् ।

लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइ रहेको अवस्थाको अन्त्य हुनु पर्नेमा समेत मन्त्री श्रेष्ठको भनाई छ ।

उनले भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत शुरु भइसकेको बताइन् ।

उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् ।

यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै  आएकी छन् ।