logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेपाल पुलिस र रोयल उपाधिका लागि खेल्ने


अंकुरण खबर
1.261K
Shares

रोयल बास्केटबल एकेडेमी र नेपाल पुलिस क्लब टेन्डी शेर्पा स्मृति खुल्ला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने भएको हो । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलातर्फ पुलिस रोयलसङ मात्र पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुलिसले रुपन्देहीलाई ५०(३३ ले हरायो । पुलिसकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।

पहिलो क्वाटरमा १७-९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६-७ को झीनो अन्तरले पछि पर्‍यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५-८ र १२-८ को प्रदर्शन गर्‍यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे ।

टाइम्सले कास्कीलाई ११३-६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६-१०, ३२-१३, २८-१७ र २७-२१ अंक जोड्यो ।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२-७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।

सुरुआतमा २०-१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोस्रोमा २६-२६ को बराबरीमा रोकियो । तेस्रोमा ३३-२२ र चौथोमा २३-१२ को अग्रता बनाउँदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससँग हुनेछ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।