logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुल बक्सिङ अर्को महिना


अंकुरण खबर
1.417K
Shares

नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहकाले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुस्करराज पन्तले जानकारी गराए । पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुने छ ।

प्रतियोगितामा करिब २२–२५ जिल्ला तथा क्लबका ७०–८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजिकले जनाएको छ । प्रतियोगिता नोभेम्बरमा बहराइनमा हुने एएसबीसी एसियाली स्कुल बक्सिङ प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक छनोटका रुपमा रहेको छ ।

करिब १२ लाख अनुमानित खर्च रहेको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्कुल स्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउदै आयोजकलाई धन्यवाद दिए ।

प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्णधारीत्रय भूपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने भएको छ ।