logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल थाइल्यान्ड क्लबसँग पराजित


अंकुरण खबर
533
Shares

नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३-१ अन्तरले पराजित भएको छ ।

आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरले कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए । जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए ।६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २-० को बनाए ।

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ ।