ब्याटिङमा पुन: अर्को निराशाजनक प्रदर्शनपछि नेपालले नामिबियासँग २१ वर्षयता पहिलो हार बेहोरेको छ । नामिबियाले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार नेपाललाई ४० रनले पराजित गर्यो ।
नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए ।
रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा पेभिलियन फर्किए । नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।
नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ ।
नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।