काठमाडौं – यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चितवनबासीले मन पराएका छन् ।लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको जानकारी प्राप्त छ ।
फिल्मको विशेष शोमा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । फिल्मका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेललगायतका अन्य कलाकारहरु, निर्माता तथा निर्देशकको पनि कार्यक्रममा उपस्थिति थिए ।
‘साइनो’ हेरेपछि वरिष्ठ कलाकार नीर शाहले शुद्ध नेपालीपनको फिल्म बनेको बताए । यस फिल्मबाट सम्भावना बोकेको निर्देशक र नव नायक भित्रिएको उनको भनाई छ । यो फिल्म यही साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारहरुको अभिनय छ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । फिल्ममा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् ।
‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । मोफसलका विभिन्न स्थानमा अहिले यो फिल्मको प्रचार प्रसारलाई पनि तिव्र बनाइएको छ ।