काठमाडौं – भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् ।
काठमाडौंको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए।
साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए। भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिएकी छन्। किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरेका छन् । मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए।
दर्शकको समर्थन र हौसलाबाट ८६ वर्षीया गायिका भोस्लेले निकै उत्साहित देखिइन्। भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन् । उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन्।
कार्यक्रममा अन्य थुप्रै कलाकारले गीत प्रस्तुत गरेका थिए। त्यस्तै प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।