मनोरञ्जन

राष्ट्रिय झण्डा जलाइएको भिडियो सार्वजनिक, कारबाहीको तयारीमा जुट्यो प्रहरी

‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा राष्ट्रिय झन्डा जलाइएको एउटा ‘म्यूजिक भिडयो’का सन्दर्भमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतमा राष्ट्रिय झन्डा जलाइएको दृश्य समावेश गरिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भइरहेको छ ।

अगस्ट १७ तारिख, भदौ १ गते युट्युवमा सार्वजनिक गरिएको उक्त साम्प्रदायिक हिंसा भड्काउने शब्दहरु समावेश गरिएका भन्दै विरोध भइरहेको छ । गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।

‘ढालजस्तो ढाका टोपी, ब्राजस्तो हिन्दु झन्डा बोकी, आयाति बिक्रम सम्वत्, राजस्थानको दाउरा सुरुवाल, खस भाषा खस लिपि लाद्ने शरणार्थी बाहुन क्षेत्री पनि तै हो ?’ गीतमा राष्ट्रिय झन्डाको अपमान गर्दै भनिएको छ ।

उक्त भिडियोमा राष्ट्रिय झन्डासँगै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रथम जननिर्वाचित बीपी कोइराला, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको तस्वीरमा आगो लगाइएको दृश्य समेत समेटिएको छ ।

‘सामाजिक सञ्जालमा चर्चा भइरहेको उक्त गीतका सन्दर्भमा हामीलाई विभिन्न माध्यममार्फत उजुरी आएको छ । हामीले त्यसका सन्दर्भमा छानबिन अगाडि बढाइसकेका छौं,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले भने।’

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

Comment here