गायिका अन्जु पन्त पुनः वैवाहिक जीवनमा बाँधिने भएकी छन् । गायक तथा संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको १ दशकपछि गायिका पन्तले विवाहको तयारी गरेकी हुन् ।
अञ्जुले प्रेमी थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । इलाम घर भएका थिर र अञ्जु दुवै इसाई धर्ममा विश्वास गर्छन् । विवाहको विषयमा दुवै जनाको परिवारमा कुराकानी समेत भइसकेको जनाइएको छ । तर, विवाह भने तत्कालै नहुने थिरको भनाइ छ । अबको १ वर्षभित्र विवाह गर्ने गरी दुवैजनाले तयारी थालेको थिरले बताएका छन् ।
थिर र अञ्जुबीच विवाह हुने विषयमा अहिले सामाजिक सञ्जालमा समेत चर्चा छ । तर, थिर भने सामाजिक सञ्जालमा चर्चा भएजस्तो आफूहरुले तत्कालै बिहे गर्ने सोचमा नभएको बताउँछन् ।
थिर र अञ्जु करिब १ वर्षदेखि प्रेम सम्बन्धमा छन् । एउटा अन्तर्वार्ताका क्रममा थिर र अञ्जुबीच भेट भएको थियो । त्यसपछि एक–आपसमा नजिकिएका दुवै जना विवाह गर्ने सोचमा पुगेका हुन् ।
अञ्जुले आवाज दिएको केही गीतका थिरको समेत शब्दरचना छ ।
पहिलो श्रीमानबाट अञ्जुकी एक छोरी परितोशिका छन् । परितोशिका पनि मोडलिङ्ग (म्युजिक भिडियो अभिनय) अग्रसर हुँदै गएकी छन् ।
पछिल्लो समय केही अन्तर्वाताहरुमा अञ्जुकी छोरी परितोशिकाले आमाले अब विवाह गर्नुपर्ने बताउँदै आएकी छन् । अञ्जुले पनि छोरीको दबावका कारण आफू विवाह गर्ने विषयमा सोचिरहेको बताउँदै आएकी थिइन् ।