logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हरिवंशको गीत कर्कलो कोक्याउला हेरेर जब आईजीपीले आँसु झारे‘


अंकुरण खबर
767
Shares

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ुकर्कलो कोक्याउलाु सार्वजनिक भएको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरियो । मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा रसाएका थिए ।

१० मिनेट लामो भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जालमा पारेर कसरी बेच्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा छ ।

भिडियो हेरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, स्वयं अभिनय गरेका हरिवंश आचार्य, उनकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसीले आँसु थाम्न सकेनन् ।

सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भावुक बनायो ।

म्युजिक भिडियो हेरिसकेपछि बोलेकी अनुराधा कोइरालाले हेर्दाहेर्दै रून मन लागेको बताइन् । साथै भिडियोमा अन्तिममा स्वस्तिमा (मैना गुरागाईं) लाई बेचिनबाट बचाउँदा हरिवंशले पाएको स्याटिस्फेक्सन आफूले पनि बेला बेला चेली उद्धार गर्दा लिइसकेको कुरा सम्झिएको बताइन् । ‘यो बच्चाहरूलाई देखाउनुपर्छ । यो जनचेतना जगाउने मेरो लागि अर्को टुल हो,’ उनले भनिन् ।

बेचबिखन न्युनिकरण प्रहरी भूमिका महत्वपूर्ण हुने भन्दै कोइरालाले तर तल्लो स्तरका प्रहरीले महत्व बुझ्न नसकेको गुनासो गरिन् । ‘प्रहरीको तल्लो युनिटलाई प्रशिक्षण जरूरी छ । उच्च अधिकारीलाई इनफ भयो,’ उनले भनिन्, ‘हाम्रो चेली हाम्रो इज्जत हुन् । बेचबिखनविरूद्व लागौं ।’

सन्देशमुलक म्युजिक भिडियो हेरेर कलाकार मदनकृष्ण श्रेष्ठले पनि आँसु झारे । बेचविखनविरुद्ध सरकारको, प्रहरीको ध्यान पुग्नुपर्ने भन्दै यस्ता भिडियोले समस्या आउनुभन्दा अघि नै सचेत गराउने बताए । ‘हाम्रो कामै सचेतना गराउने हो । यसले सहयोग गर्ने विश्वास छ,’ उनले भने ।

आईजीपी थापा क्षेत्रीले भिडियोमा बेचबिखन हुन लागेकी मैनाको उद्धारका लागि पुलिसको टाइम्ली इन्ट्री देखाइएकोमा धन्यवाद दिए । ‘यो भिडियोले आफ्नोपन दिन्छ । सामाजिक सन्देश प्रवाह गर्ने भिडियो, गाउँ गाउँ पुर्‍याउनुपर्छ,’ उनले भने ।

कलाकार आचार्यले गीतले सबैलाई छोएको बताए । ‘मेरो आँसु झरिरहेको थियो । श्रीमतीको पनि आँसु खसिरहेको थियो । आईजीपी साप पनि आँसु रोक्न खोज्दै हुनुहुन्थ्यो । त्यत्रो प्रहरीको आईजीपीले पनि महसुस गर्नुभयो,’ उनले भने, ‘अगाडि बसेका स्वस्तिमा, मदन दाई सबैको आँखा रसायो ।’