नेपालमा १४ वटा जिल्ला र ७२ प्रदेश भएको बताएपछि नेपाली अभिनेत्री पूजा शर्मा ट्रोलको शिकार भएकी छन्।
आफ्नै देशमा रहेका जिल्ला र प्रदेशको बारेमा समेत सामान्य ज्ञान नभएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको विरोध गरेका हुन्। प्राइम टाइम्स टेलिभिजनमा दिएको एक अन्तरावार्तामा पूजाले नेपालमा १४ जिल्ला र ७२ प्रदेश रहेको बताएकी थिइन्।
उक्त टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले अन्तरवार्ताका क्रममा केही बेर बाहिरी कुरा गरौँ न भन्दै राजतीति र नेपालको भूगोलका बारेमा प्रश्न गरेका थिए। तर उनले दिएको गलत जवाफले उनी ट्रोल बनेकी हुन्।
उनलाई नेपालका ५ वटा मन्त्रीको नाम भन्नुहोस् भनेर पनि सोधिएको थियो, त्यसको जवाफमा उनले वामदेव गौतम, प्रचण्ड र बाबुराम भट्टराईको नाम लिएकी थिइन्।
अहिले उनी त्यही अन्तरावार्ताका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेककी छन्।
फिल्ममा काम गरेबापत चर्को पारिश्रमिक लिने कलाकारका रूपमा चिनिएकी पूजाको यो विषयलाई लिएर अहिले चर्को आलोचना भइरहेको छ। यसै विषयलाई लिएर उनीमाथि धेरैले व्यंग्य गरिरहेका छन्।
अहिले प्राइम टेलिभिजनले उक्त अन्तवार्ताको भिडियो आफ्नो च्यानलबाट हटाएको छ।