logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

‘डान्स मास्टर लिल च्याम्स’को निर्णायकमा तेरिया मगर, सुशान्त खत्री र रोहिया महर्जन


अंकुरण खबर
1.001K
Shares

नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

विशाल भण्डारीको निर्देशनमा हुने शो ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको हो। यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन् । जजको रूपमा भने ‘डान्स इन्डिया डान्स-लिल चाम्स’ की विजेता तेरिया फौजा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहने छन्। उनीहरुले प्रतिस्पर्धीको नृत्य मूल्यांकन गरेर नम्बर दिने छन् ।

शोमा होस्टको रूपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला छन्।

‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन-२’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रूपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन्। निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नु पर्नेछ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्ने छन् ।