रियल मड्रिडले ला लिगा फुटबल प्रतियोगितामा राम्रो सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टालाई उसैको मैदानमा ३–१ ले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको हो ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले ला लिगाको सुरुवाती खेलमै गारेथ बेललाई पहिलो रोजाइको खेलाडीको रुपमा मैदान उतारेका थिए । यद्यपि, उनले गोल गर्न भने सकेनन् । पहिलो हाफमा १ गोलले अगाडि बढेको रियल दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो । ५६औं मिनेटमा लुका मोड्रिक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि रियल १० खेलाडीमा सीमित भएको हो ।
रियलका लागि पहिलो गोल करिम बेन्जिमाले गरेका हुन् । उनले खेलको १२औं मिनेटमा रियललाई अग्रता दिलाएका हुन् । रियलका लागि दोस्रो गोल टोनी क्रुजले गरेका हुन् । उनले ६१औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
खेलको ८०औं मिनेटमा लुकास भास्क्वेजले गोल गरेका हुन् । ९० मिनेटसम्म ३–० गोलले अघि रहेको रियलले अतिरिक्त समयमा १ गोल खान पुग्यो । खेलको अतिरक्त समयमा सेल्टाका लागि लोसडाले सान्त्वना गोल गरेका थिए । एजेन्सी