काठमाडौं – अमेरिकी सेरेना विलियम्सले युएस ओपन टेनिसमा राम्रो सुरुवात गरेकी छन् । नेपाली समय अनुसार मंगलबार बिहान भएको पहिलो चरणको खेलमा शानदार जित निकाल्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
न्युयोर्कमा भएको खेलमा उनले मारिया शारापोभालाई ६–१ र ६–१ को सेटमा पराजित गरेकी हुन् । ३७ वर्षकी सेरेनाले मात्रै ५९ मिनेटको खेलमा जित निकालेकी हुन् ।
एक वर्षअघि युएस ओपनको फाइनलमा सेरेनाको व्यवहार विवादित बनेको थियो । उनले जापानकी नाओमी ओशाकासँग फाइनलमा पराजित भएपछि अम्पायरलाई धाँधली गरेको तथा झुठ रहेको आरोप लगाएकी थिइन् ।
तर ३२ वर्षकी रुसी शारापोभालाई पराजित गर्ने क्रममा मंगलबार सेरेनाको ‘मुड’ फरक देखिन्थ्यो । आठौँ बरियताकी सेरेना कीर्तिमानमा बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधिको पर्खाईमा छन् । उनी छोरी जन्माएपछि दुईअघि पुनः खेलमा फर्किएकी हुन् ।