logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलीयाको हातमा


अंकुरण खबर
741
Shares

यस वर्षको महिला तर्फ भएको महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाले हात पारेको छ ।

आज घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा भएको फाइनलमा डिफेण्डिङ च्याम्पियन अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गरेको हो । अट्रेलियाले दिएको १८५ रनको लक्ष्य पच्छ्याएको भारत १९.१ ओभरमा ९९ रनमा अलआउट भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । अस्ट्रेलियाको लागि बेथ मुनीले अविजित ७८ रन बनाइन् । ५४ बल खेलेकी उनले १० चौका प्रहार गरिन् । अर्की ओपनर अलिसा हिलीले तुफानी ब्याटिङ गर्दै ३९ बलमै ७५ रन बनाइन् । उनले ७ चौका र ५ छक्का प्रहार गरिन् । कप्तान मेग लेनिङले १६ रन बनाइन् ।

यता, भारतको लागि दिप्ती शर्माले २ तथा पुनम यादव र राधा यादवले १–१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको भारतले १९.१ ओभरमा अलआउट हुँदै ९९ रनमात्र बनाउन सक्यो ।

भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाइन् । वेदा कृष्णमूर्तिले १९, रिचा घोषले १८ र स्मृति मन्धानाले ११ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका लागि मेगन स्कटले ४, जेस जोनासेनले ३, सोफी मोलिनेक्स, डेलिसा किमिन्स र निकोला केरीले १–१ विकेट लिए ।