logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि


अंकुरण खबर
741
Shares

वेस्टफलन रंगालामा भएको खेलमा घरेलु टिम बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ।

मंगलबार राति सम्पन्न खेलमा उसले डर्टमन्डलाई ३–१ गोलले हराउँदै उपाधिमा कब्जा जमाएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा बायर्नका लागि रोबर्ड लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले पनि एक गोल गरेका थिए। डर्टमन्डका लागि भने मार्को रिउसले गोल फर्काए।

पहिलो हाफको ४१औं मिनेटमा लेवान्डोस्कीले सर्ज गन्याब्रीको पासमा गोल गर्दै अग्रता बनाएका थिए। गोलसँगै पहिलो हाफमा एक गोलले अघि रहेको बायर्नले दोस्रो हाफको ४९औं मिनेटमा अर्को गोल थप्यो। यसपटक थोमस मुलरले पोस्ट नजिकैबाट सहजै गोल गरे।

यता दुई गोलले पछि परेको डर्टमन्डकाका रिउसले बेलिङ्घमको पासमा गोल गरे पनि क्लबलाई जित दिलाउन सकेनन्। बरु ७४औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ गोलको  जित दिलाए।

जर्मन सुपर कपमा बुन्डेसलिगाको विजता र जर्मन सुपर कपको विजेताले प्रतिस्पर्धा गर्छन्। यसमा एक फाइनल खेल मात्र हुन्छ। पछिल्लो सिजनको बुन्डेसलिगामा बार्यनले कीर्तिमानी लगातार नौ पटक बुन्डेसलिगाको उपाधि जितेको थियो।

त्यस्तै, डर्टमन्डले जर्मन कपको उपाधि जितेको थियो। ति दुईबीचको प्रतिस्पर्धामा भने बायर्न विजयी भएको छ।