logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आइसिसी टि–२० विश्वकप : बंगलादेशमाथि स्कटल्यान्डको रोमान्चक जित


अंकुरण खबर
988
Shares

आइसिसी टि–२० पुरुष विश्वकपमा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । उसले पहिलो चरणको समूह ‘बी’ अन्तर्गतको खेलमा बंगलादेशलाई ६ रनले पराजित गरेको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रनमात्र जोड्न सक्यो ।

बंगलादेशका लागि मुश्फिकर रहिमले ३६ बलमा १ चौका र २ छक्कासहित  सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान महमुदुल्लाहले २३, शाकिब अल हसनले २० र अफिफ होसेनले १८ रन जोडे ।

स्कटल्यान्डका ब्राड व्हिलले ३, क्रिस ग्रिभ्सले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन जोडेको थियो ।

क्रिस ग्रिभ्सले २८ बलमा ४ चौका र २ छक्कासहित ४५ रनको योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए ।

एक समय ५३–६ को अवस्थामा ग्रिभ्स र मार्क वाटले सातौं विकेटका लागि ५१ रनको उत्कृष्ट साझेदारी गर्दै स्कटल्यान्डको पारीलाई उकासेका थिए ।

वाटले १७ बलमा २ चौकासहित २२ रन जोडे । जर्ज मुन्सीले २९ रन बनाए ।

बंगलादेशका मेहेदी हसनले ३, शाकिब अल हसन र मुस्ताफिजुर रहमानले २–२ तथा तस्किन अहमद र मोहमद सैफुदीनले १–१ विकेट हात पारे । योसँगै आफ्नो विकेट सङ्ख्या १०८ पुर्याउँदै शाकिब टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने ।

जितसँगै स्कटल्यान्डले २ अंक जोड्दा बंगलादेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसअघि समूह ‘बी’ अन्तर्गतकै पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको थियो । समान २–२ अंक जोडेपनि ओमान स्कटल्यान्डलाई नेट रनरेटको आधारमा पछि पार्दै शीर्ष स्थानमा छ ।