logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘रोनाल्डोको बारेमा चर्चा गर्नु आवश्यक छैन’


अंकुरण खबर
2.015K
Shares

DOHA, QATAR - NOVEMBER 24: Fernando Santos, Head Coach of Portugal, attends the post match press conference following the FIFA World Cup Qatar 2022 Group H match between Portugal and Ghana at Stadium 974 on November 24, 2022 in Doha, Qatar. (Photo by Sarah Stier - FIFA/FIFA via Getty Images)

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नुअघि क्रिस्टियानो रोनाल्डोको बारेमा थप टिप्पणी नगर्न आग्रह गरेका छन् ।

क्वाटरफाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै सान्तोसले रोनाल्डोको बारेमा अब थप चर्चा गर्न जरुरि नरहेको बताए । ‘मलाई लाग्छ अब रोनाल्डोको विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन । उनले कहिले पनि मलाई राष्ट्रिय टोली छोड्छु भनेका छैनन् । हामीले अब यसबारे थप चर्चा गरेर नचाहिँदो विवाद सिर्जना गर्नु आवश्यक छैन,’ सान्तोसले भने ।

स्विटजरल्यान्डविरुद्ध खेलमा रोनाल्डोलाई बाहिर राख्दा पोर्चुगिज फरवार्डले उक्त निर्णय स्वीकार गरेको पनि सान्तोसले बताए । ‘मैले रोनाल्डोलाई खेलको दिन लन्चपछि मेरो अफिसमा बोलाएको थिएँ । मेरो निर्णय सुनेर उनी खुसी थिएनन् किनकि उनी सधैं सुरुवाती रोजाइमा खेलिरहेका खेलाडी हुन् । उनले मलाई यो सहि उपाय हो भन्ने प्रश्न समेत गरे । त्यसपछि मैले आफ्नो धारणा र खेलको रणनीति सुनाए र उनले पनि उक्त निर्णय स्वीकारे । हामीले सामान्य छलफल गरेका थियौं,’ सान्तोसले प्रष्ट पारे ।

सान्तोसले मोरक्कोविरुद्ध खेल सहज नहुने पनि बताए । ‘मोरक्को निकै बलियो टोली हो । युरोपका शीर्ष क्लबमा खेल्ने खेलाडीहरु यहाँ खेलिरहेका छन् । पोर्चुगललाई सहज हुने छैन,’ उनले भने,’ मेरो खेलाडीले विपक्षी कस्तो खेल्छन् भन्ने बुझेका छन् । हामीले निडर भएर आत्मविश्वासका साथ खेल्नुपर्छ । हामी जितको अपेक्षा लिएर खेल्नेछौं र मोरक्को पनि त्यहि सोचिरहेको हुनेछ ।’

मोरक्को र पोर्चुगलबीच खेल शनिबार हुनेछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ ।