logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जब आफ्नो देश बिर्सेर नेपल्सवासीले गरे म्याराडोनाको समर्थन


अंकुरण खबर
1.573K
Shares

सन् १९९० को विश्वकप सेमिफाइनलमा जे भयो, त्यस्ता घटना दुर्लभै हुन्छन् । यतिबेला इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलोमा आयोजक टोली अर्जेन्टिनासँग भिड्दै थियो । आयोजक र बलियो टोली हुनुका नाताले इटलीलाई विश्वकपको  दाबेदार मानिएको थियो ।

सान पाओलो इटलीको स्थानीय नापोली क्लबको रंगशाला हो, जहाँ म्याराडोनाले व्यवसाहिक फुटबल खेल्थे । म्याराडोनालाई उनका समर्थकहरु भगवानकै दर्जा दिन्थे । त्यसैले विश्वकपको सेमिफाइनल खेलको सिट्ठी बजेपछि केही अन्धभक्त समर्थकहरुले म्याराडोना मोहमा परेर आफ्नै राष्ट्रियता बिर्सिए । म्याराडोनाले गोल गर्दा उनीहरुले उफ्रिएर हुटिङ गरे । नेपल्सवासीलाई सान पाओलो रंगशालामा म्याराडोना हार्दैनन् भन्ने विश्वास थियो । नभन्दै, म्याराडोनाकै निर्णायक गोलमा यो खेल अर्जेन्टिनाले १–० ले जित्यो ।

शोकमा डुब्यो नेपल्स

बुधबार ६० वर्षको उमेरमा म्याराडोनाको निधनको खबर बाहिरिएलगत्तै नेपल्स शहरका मेयर लुुईगी डि मागिस्ट्रिजले यस रंगशालाको नाम फेरेर डिएगो अर्मान्डो म्याराडोना रंगशाला राख्ने घोषणा ट्वीटरमार्फत गरेका छन् । उनले म्याराडोनाको सम्मानमा रंगशालाका सबै बत्तीहरु रातभर बाल्न पनि निर्देशन दिएका छन् ।

त्यस्तै, नापोली क्लबले शोक मनाउने क्रममा ट्वीटरमा आफ्नो निलो रंगको लोगोलाई बदलेर ‘कालो’ बनाएको छ । ‘सबै हाम्रा शब्दहरुको पर्खाइमा छन्,’ क्लबले ट्वीट गरेको छ,‘तर हामीले अनुभव गरिरहेको पिडाका लागि हामी कुन शब्द प्रयोग गर्नसक्छौं ? यो रुवाबासीको समय हो ।’

रंगशाला वरपर शोक मनाउन ठूलो संख्यामा समर्थकहरु भेला भएका छन् । इटलीका खेलकुदमन्त्री (जो नेपल्सवासी हुन्) भिन्सेन्जो स्पाडाफोराले भनेका छन्, ‘उनी च्याम्पियनभन्दा धेरै थिए । उनी पूर्ण स्टार थिए । उनले मेरो शहरवासीहरुका लागि अपराजित सपना र आशाको प्रतिनिधित्व गर्थे । आज राति नेपल्स रुनेछ ।’

दमितको पक्षमा

म्याराडोना अर्जेन्टिनाको भिल्ला फियोरिटास्थित झुपडबस्तीमा जन्मिएका थिए । उनी १९८२ मा अर्जेन्टिनाबाट स्पेनिस क्लब बार्सिलोना र त्यसको दुई वर्षपछि इटालिन क्लब नापोलीमा आए । नापोली शहर इटलीको गरिब शहर मानिन्थ्यो, आफ्नो विगतका कारण पनि म्याराडोना गरिबका पक्षमा दिल खोलेर खडा हुन्थे ।

इटालियन सिरिएमा युभेन्टस्, एसी मिलान र इन्टर मिलानको दबदबा थियो । म्याराडोनाले यस दबदबालाई चिर्दै नापोलीलाई दुुईपटक लिग जिताए । त्यहीकारण उनीसँग नापोलीको सम्बन्ध फुटबलभन्दा माथि रह्यो । म्याराडोनाले यस क्लबबाट कुल १ सय १५ गोल गरे । ‘नेपल्स पागल शहर थियो । उनीहरु मजस्तै पागल थिए । फुटबल उनीहरुको जीवन थियो,’ म्याराडोनाले यसबारे भनेका थिए,‘यहाँको अवस्थाले मलाई मेरो धरातल सम्झाइदिन्थ्यो । त्यहाँ भोड हड्ताल भइरहेको थियो र मानिसहरु रंगशालामा आफैंलाई बाँधेर बसिरहेका थिए, उनीहरुले मलाई त्यहाँ आउन भने । म कसरी उनीहरुलाई निराश पार्नसक्थेँ।’

म्याराडोना भनेका थिए,‘मैले त्यहाँ उनीहरुले सामना गर्ने बेरोजगारीलगायतका सबै समस्या बुुझेको थिएँ । उनीहरुले टिकट किन्नका लागि ठूलो त्याग गरेका हुन्थे । कतिपयले खानाको पैसा कटाएर टिकट किन्थे ।’

‘म्याराडोना नेपल्सका व्यक्तिहरुको भगवान् हुन् । उनले इतिहास बदलिदिए,’ २००६ मा इटलीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो भन्छन्,‘हामीले सधैं पिडा पायौं । रेलिगेसनविरुद्ध लडिरह्यौं । तर, म्याराडोना छँदाका ७ सिजन हामीले दुई लिग र एउटा युईएफए कप जित्यौं । म म्याराडोनाका फ्यान हुँ र म्याराडोनासँगका ती वर्षहरु साँच्चै अद्भूत थिए ।’

सन् २०१७ मा म्याराडोनाले नेपल्सको मानार्थ नागरिकता लिएका थिए । आज पनि नेपल्सका चोक–गल्ली र धेरै घरमा म्याराडोनाको तस्विर सजिएको छ । एजेन्सी