दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन्। उनको कमाईका बारेमा जान्नुभयो भने तपाई छक्क पर्नुहुनेछ । छ वर्षीया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज रिभ्यू’ र ‘बोराम ट्युब भ्लग’ मा हाल्ने गर्छिन्। जसले मनग्य आम्दानी गर्छिन । बच्चाका खेलौनाहरूको बयान र समीक्षा गर्ने उनका भिडियो करोडौँले हेर्ने गर्छन्। उनका च्यानलका तीन करोडभन्दा बढी सब्सक्राइबर छन् ।
उनको नामबाट उनका आमाबाबुले कम्पनी पनि खोलेका छन्, जसको नाम बोराम कम्पनी हो। हालसालै बोराम कम्पनीले राजधानी सोलस्थित गाङ्नाम जिल्लामा ८७ करोड रुपैयाँभन्दा बढी मूल्यको पाँचतले भवन खरिद गरेको छ। कोरिया हेराल्ड नामक अखबारका अनुसार बोरामको मासिक आम्दानी ३२ करोड रुपैयाँभन्दा बढी छ। अखबारले उनी मार्केटिङ रेभेन्यूबाट सबैभन्दा बढी कमाउने दक्षिण कोरियाली युट्युबर भएको उल्लेख गरेको छ ।
तर, उनको सफलताले कतै उनको शोषण त भइरहेको छैन भन्ने प्रश्न पनि उठेको छ। सन् २०१७ मा सेभ द चिल्ड्रेन, लोकल च्याप्टर उनका अभिभावकविरुद्ध बोरामलाई मानसिक दबाबमा राखेको आरोप लगाउँदै अदालत पुगेको थियो। एजेन्सी-