वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ।
सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ । अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ। ’पब्लिक चार्ज रुल’ नामक नियम सोमवार सङ्घीय रजिस्टरमा प्रकाशित भएको थियो। यो अक्टोबर १५ देखि लागु हुनेछ।
कसलाई पर्नेछ असर ?
अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीहरूलाई यो परिवर्तनले खासै असर गर्नेछैन। साथै शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूको निम्ति पनि यो लागु हुनेछैन। तर भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्नेछ।
जसले आम्दानीको स्तर भेट्टाउन सक्दैनन् वा जो सरकारी सुविधामा निर्भर हुनसक्ने ठानिन्छन् तिनलाई भविष्यमा अमेरिका भित्रन रोक्न सक्नेछ। अमेरिकामा रहिरहेकाहरूको हकमा तिनको निवेदन अस्वीकृत हुन सक्छ। अनुमानित दुई करोड २० लाख मानिस जो कानुनी रूपमा अमेरिकामा बसिरहेका छन्, तिनको नागरिकता छैन। तीमध्ये कैयौँलाई यो नियमले असर पार्न सक्नेछ।