भारत – भारतीय सेनामाथि कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयअघि गाउँलेहरूलाई यातना दिइएको आरोप लागेको छ । कश्मीरका केही गाउँलेहरूले सेनाले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बताएका हुन् ।
रातको समयमा गस्ती गर्ने बहानामा निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको स्थानीयको दावी छ । अन्तर्राष्ट्रिय मिडियाहरुले जीउमा चोट लागेका गाँउलेहरुको दृश्य समेत सार्वजनिक गरेका छन् । तर भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ ।
अगष्ट पहिलो हप्ता कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३ सय ७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ । कश्मिरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तीन हजारभन्दा बडी मानिसलाई जेलमा राखिएको छ ।