साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलोचनापछि यसको अन्त्य भएको साउदी सरकारले जानकारी दिएको छ ।
बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाज र अन्य स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।
राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलालाई पुरुषसरह अधिकार दिएको बताइएको छ ।
यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।