अमेरिकाको टेक्सास राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।
घटनामा कम्तीमा २१ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।
एक ३५ वर्षीय युवकले गोली चलाएको र आक्रमणमा सग्लन बन्दुकधारी युवकको पनि प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीको दाबी छ । शुरूमा आक्रमणकारी एकभन्दा धेरै अनुमान गरिएको थियो । तर आक्रमणमा एक जना मात्रै संग्लन रहेको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणकारीको पहिचान खुलाईएको छैन । आक्रमणको उद्धेश्य पनि प्रष्ट नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।