आपराधिक समूहको आक्रमणबाट मेक्सिकोमा १४ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । अरु तीन प्रहरी अधिकारी घाइते भएका छन् ।
मेक्सिकोको पश्चिमी क्षेत्रमा अदालतको आदेश लिएर जाँदै गरेको प्रहरीको गाडीलाई लक्षित गरेर आपराधिक समूहले आक्रमण गरेको हो । मिचोआकान राज्यको एल अग्वाखेमा प्रहरीको गाडीमा एम्बुस आक्रमण भएको मेक्सिकोका सञ्चार माध्यमले जनाएका छन् ।
मेक्सिकोको शक्तिशाली आपराधिक समूह खालिस्को नुइभा खेनेरासिओन कार्तेल आक्रमण गरेको अनुमान छ । प्रहरीको गाडी एल अग्वाखे पार गर्दै गर्दा एम्बुस आक्रमण भएको हो । हतियारधारीले प्रहरीको गाडीलाई घेरेका थिए । त्यसपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका हुन ।
आक्रमणमा संलग्नको खोजीका लागि सबै संयन्त्र परिचान गरिएको सरकारी अधिकारीले बताएका छन् ।