हरेक आइतबार अमिताभ बच्चनको घरको अगाडि उनका फ्यानहरू उनलाई भेट्न ताँती लाग्ने गर्दछन् । उनी फ्यानसँग रमाउँन यो एउटा ठूलो मौका हो ।
तर, गत आइतबार यो सम्भव भएन, किनभने यो हप्ता उनको स्वास्थ्य अवस्था ठीक थिएन । यो कुराको जानकारी उनले आफ्नो ट्विटरमार्फत गरेका छन् । फ्यानसँग भेट्न नसकेकोमा अमिताभले माफीसमेत मागेका छन् ।
उनले ट्विटरमा आफूलाई भेट्न आउने फ्यानहरूको तस्बिर सेयर गर्दै लेखेका छन्– ‘मलाई विश्वास छ फेरि आइतबार भेट्नका लागि आउनुहुनेछ । माफी चाहन्छु म बाहिर आउन सकिनँ ।’ अमिताभ बच्चन केही दिनदेखि बिरामी छन् । केही दिनअघि मात्र मुम्बई नानावटी अस्पतालमा तीन दिन भर्ना भएर उनी घर फर्केका हुन् ।
शुक्रबार छोरा अभिषेक र श्रीमति जयासँग उनी गाडीमा देखिएका थिए । जुन भिडियो भाइरल भएको थियो । खासमा उनी रुटिङ चेकअपका लागि अस्पताल भर्ना भएका थिए । उनलाई बारम्बार फोक्सोको समस्याले सताउने गरेको छ । उनको फोक्सोकों २५ प्रतिशत भागले मात्र काम गर्ने गरेको छ । एजेन्सी