बलिउड अभिनेता अर्जुन कपूरले दिवंगत आमाको सम्झनामा सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखेका छन्।
स्टाटससँगै उनले आफूले लेखेकाे एक हस्तलिखित पुरानो कवितासमेत शेयर गरेका छन्। जुन कविता अर्जुनले सन् १९९७ मा लेखेका थिए। जतिबेला उनी १२ वर्षका थिए। आमाले दिएको मायाका लागि उनी आमालाई धन्यवाद दिन चाहन्थे। आफूले आमाको त्यो माया हरेक दिन सम्झिने गरेको बताएका छन्।
उनले लेखेका छन्, ‘मसँग यो स्वीकार गर्नु बाहेक अर्काे कुनै बाटो छैन, मलाई अब आमाको माया कहिल्यै मिल्ने छैन। कैयौँ पटक यो अन्याय लाग्छ। यसले म विचलित हुन्छु। मलाई लाग्छ कि म आफै हराएको छु, असहाय भएको छु। म केवल छोरा हुनुको नाताले यो लेखिरहेको छु।’
उनले अगाडि लेखेका छन्, ‘एकपटक फेरी उहाँको मुखबाट आफ्ना लागि ‘छोरा’ भन्ने शब्द सुन्न पाएको भए ! म उहाँलाई सधैँ सम्झन्छु। आठ वर्ष अघि म विक्षिप्त भएकाे थिएँ। अब हरेक बिहान आफैलाई सम्हाल्दै मुस्कुराउने कोशिस गर्छु। तर उनको अभाव कहिल्यै पूरा हुनेछैन। मैले यो किन लेखिरहेको छु मलाई थाहा छैन। तर मलाई के लाग्छ भने जिन्दगी हामी सबैमाथि प्रभाव पार्छ। किनकी हामी मान्छे हौँ र म पनि कुनै हिरो होइन भन्ने कुरा स्वीकार गर्छ। म पनि जिन्दगीको यो असरबाट अछुतो छैन। हजुरको धेरै याद आउँछ आमा ! आशा छ हजुर जहाँ हुनुहुन्छ, खुशी हुनुहुन्छ होला। धेरै धेरै माया।’
अर्जुनको उक्त पोष्टमा उनका कैयौँ साथीहरुले कमेन्ट गरेका छन्। रणवीर सिंह, कृति सेनन, बनिता सन्धुलगायतका बलिउड कलाकारले मुटुको इमोजीसहित उनको पोष्टमा कमेन्ट गरेका छन्।
यस्तै फराह खानले अर्जुनको उक्त पोष्टमा लेखेकी छन्, ‘मलाई रुवाउन बन्द गर।’
यस्तै अभिनेत्री रकुल प्रित सिंहले कमेन्टमा लेखेकी छन्, ‘मलाई पूरा विश्वास छ, जसरी तिमीले आफूलाई सम्हालिरहेका छौ र आफूलाई जहाँ पुर्याएका छौ, त्यसमाथि उनलाई पक्कै पनि गर्व होला।’
अर्जुनकी आमा मोना शौरीको सन् २०१२ मा ४८ वर्षको उमेरमा निधन भएको थियो। एजेन्सी