क्युवाले ४३ वर्षपछि प्रधानमन्त्री पाएको छ । क्युवाका राष्ट्रपति मिगेल डियाज–कानेलले पर्यटन मन्त्रीको जिम्मेवारीमा रहेका मानुएल मारेरे क्रुजलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
क्युवाको तत्कालीन नेता फिडेल क्यास्ट्रोले सन् १९७६ मा प्रधानमन्त्री पद खारेज गरेका थिए । तर कम्युनिष्ट शासन रहेको क्युवाले यो वर्षको सुरुमा ल्याएको नयाँ संविधान अनुसार प्रधानमन्त्री पद पुनर्स्थापित गरेको हो ।
प्रधानमन्त्रीमा नियुक्त भएका ५६ वर्षे क्रुजले अहिले राष्ट्रपतिको हातमा रहेका केही जिम्मेवारीहरु प्राप्त गर्ने छन्।
सरकारका प्रमुखका रुपमा रहने प्रधानमन्त्री राष्ट्रपतिका प्रशासकीय दायाँ हात रहने जनाइएको छ । तर आलोचकहरुले भने प्रधानमन्त्री पद मात्रै देखाउने कुरा रहेको र निर्णय गर्ने असली अधिकार क्युवा कम्युनिष्ट पार्टी र सेनामा नै रहने बताएका छन् ।