अमेरिकाको ख्यातिप्राप्त विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई बर्खास्त गरिएको छ ।
पछिल्लो समय कम्पनीप्रति जनविश्वास घटेको भन्दै कम्पनीप्रति जनविश्वास पुनःस्थापना गर्न उनलाई पदबाट बर्खास्त गरिएको हो । उनको ठाउँमा बोइङले कम्पनीका अध्यक्ष डेबिड काल्हुनलाई नियुक्ति गरेको छ । उनले जनवरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन् ।
इथियोपिया र इन्डोनेसियामा बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटना भएपछि सो मोडलका विमानको उडान संसारभर रोकिएको थियो । दुई घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।
बीबीसीका अनुसार, त्यसयता प्रमुख कार्यकारी अधिकृत मालनबर्गले दबाब झेलिरहेका थिए । उनले सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए । सन् २०१५ मा उनी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । यसअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए । एजेन्सी