logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाजपा सरकारको निर्णय : सेना प्रमुख चीप अफ डिफेन्स स्टाफ (सिडिएस)मा नियुक्त


अंकुरण खबर
1.963K
Shares

भारतीय जनता पार्टी (भाजपा) सरकारले भारतमा पहिलो पटक चीप अफ डिफेन्स स्टाफ (सिडिएस) को रुपमा सेना प्रमुख विपिन रावतलाई नियुक्त  गरेको छ ।

जनरल रावललाई मोदी सरकारले सिडिएसको रुपमा नियुक्त गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । सरकारले अवकाश लिनु एक दिन अगाडि रावतलाई उक्त जिम्मेवारी सुम्पिएको हो । रावत उक्त पदमा ६५ वर्षसम्म रहनेछन् ।

मोदी सरकारले डिसेम्बर २४ गते सैन्य विभाग गठन गरेर उक्त विभागको प्रमुखको रुपमा ४ स्टार जर्नेललाई सिडिएस नियुक्त गर्ने निर्णय गरेको थियो । पहिलो पटक सिडिएसको रुपमा नियुक्त भएका रावतले सैन्य कारबाही तथा अभ्यासका क्रममा जल, थल तथा वायु सेनाबीच समन्वय गर्नेछन् ।

गत मंगलबार बसेको केन्द्रीय मन्त्रिपरिषदको बैठकले पहिलो पटक सिडिएस नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि अगस्ट १५ गते प्रधानमन्त्री मोदीले भारतीय सेनाका तीनवटै अंगको समन्वय र तालमेल गर्ने गरी ‘चीफ अफ डिफेन्स स्टाफ’ पद सिर्जना गरिन लागेको बताएका थिए ।

अगस्ट १५ गते ७३ औं स्वतन्त्रता दिवसको क्रममा मोदीले थल, जल र वायु सेनाबीच तालमेल गर्ने गरी सिडिएस नियुक्त गरिन लागेको जानकारी दिएका थिए । सेनाका तीनवटै अंगबीच तालमेल गरेर प्रभावकारिता बढाउनका लागि सिडिएस नियुक्त गर्न लागेको मोदीको भनाइ थियो ।

सन् १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धका बेला सिडिएसको पद सिर्जना गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो । तर हालसम्म उक्त प्रस्तावबारे केन्द्रीय सरकारले कुनै निर्णय गरेको थिएन ।

मोदी सरकारले ४ स्टार जर्नेललाई सिडिएसको रुपमा नियुक्त गर्ने निर्णय गरेसँगै भारतीय सेनाको प्रभावकारिता बढ्ने बताइएको छ । सिडिएस सैन्य विभागको प्रमुख समेत बन्ने छन् । सेनाका ३ वटै अंगलाई सोही विभाग अन्तर्गत ल्याइनेछ । सिडिएसको तलब सेना प्रमुखको बराबर हुने भारतीय समाचार माध्यमले जनाएका छन् ।

सैन्य विभागमा सिभिल तथा मिलिटरी अफिसरहरु रहनेछन् । साथै सिडिएसलाई चिफ्स अफ स्टाफ कमिटीका अध्यक्ष समेत बनाइएको छ । सिडिएसले जल, थल र वायु सेनासम्बन्धी विषयमा रक्षामन्त्रीलाई सल्लाह समेत दिनेछन् । तर सेनाका तीनवटै अंगका प्रमुखको सैन्य अधिकारलाई भने सिडिएसले प्रयोग गर्न सक्ने छैनन् ।

त्यस्तै सिडिएसले आफ्नो पदबाट अवकाश पाएपछि सरकारको अनुमतिबिना कुनै पनि सरकारी पद धारणा गर्न पाउने छैनन् । साथै सिडिएसले कुनै पनि निजी संस्थामा जागिर खान पाउने छैनन् ।

सिडिएसले रक्षा सचिवलाई नसोधी रक्षामन्त्रीलाई सम्पर्क गर्न सक्नेछन् ।