इरानको रेभोल्युसनरी गार्ड्सको सम्भ्रान्त कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकमा रहेका अमेरिकी बलहरूले मारेका छन् ।
पेन्टागनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा उनको हत्या गरिएको पुष्टि गरेको छ । जनरल सुलेमानी इरानसमर्थित मिलिसियाहरूसँग बग्दाद विमानस्थलमा कारमा गइरहेको बेलामा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए । इरानका परराष्ट्रमन्त्री जवाद जरिफले यो अत्यन्तै खतरनाक र मूर्खतापूर्ण युद्धचर्काइ भएको बताए ।
जनरल सुलेमानी इरानी सत्ताका प्रमुख व्यक्तित्व थिए । उनको कुद्स फोर्सले सीधै देशका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई रिपोर्ट गर्छ र उनलाई राष्ट्रिय व्यक्तित्व मानिन्छ ।
इरान सरकारका एक प्रवक्ताले देशको प्रमुख सुरक्षा निकायले असाधारण बैठक डाकेर यस आपराधिक आक्रमणको विषयमा चर्चा गर्ने बताएको छ ।
यो समाचार सार्वजनिक भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी झण्डाको तस्वीरका साथ ट्वीट गरेका छन् । बीबीसीबाट