जनवरी ३ का दिन बिहानै बगदाद विमानस्थलमा ड्रोन आक्रमण भयो । आक्रमणको सुरुवाती चरणमा आक्रमणलाई कुनै ठूलो कारबाहीका रूपमा हेरिएन । तर, आक्रमणमा परी इरानका शीर्ष कमान्डर मध्येका एक कासिम सुलेमानीको मृत्यु भएको पुष्टि भएपछि पूरै मध्यपूर्वमा चर्चा चुलियो ।
घटनाको केही बेरपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् अमेरिकी सैन्य कारबाहीमा आफ्नो मुलुकले आतंकवादी ठहर गरेका सुलेमानी मारिएको पुष्टि गरे । उक्त आक्रमणमा इरान समर्थित मिलिसिया कताइब हिजबुल्लाहका कमान्डर अबु महदी अल–मुहान्दिस पनि मारिएका थिए ।
सुलेमानी इरानको अल–कुद्स फोर्सका प्रमुख थिए । इरानको यो सुरक्षाबल देशबाहिर गरिने कारबाहीका लागि चर्चित छ । जसलाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको थियो ।
उक्त कारबाहीपछि इरान र अमेरिकाबीचको तनाव शीर्ष स्तरमा पुग्यो । उक्त कारबाहीबाट आक्रोशित इरानले इराकमा अमेरिकाको सैन्य बेस क्याम्पमा कयौं मिसाइल आक्रमण गरिसकेको छ । तर, इरानी आक्रमणमा कुनै पनि अमेरिकी सैन्य जवानको भने मृत्यु भएको छैन ।
इरानसँग डराएका छन् ट्रम्प ?
कासिम सुलेमानी मारिएपछि इरानले इराकमा अमेरिकी एयरबेसमा कयौं पटक आक्रमण गरिसक्दा पनि अमेरिकाले जवाफी कारबाही भने गरेको छैन ।
पेन्टागनबाट आएका ‘रिपोर्ट’ मा जनरल सुलेमानी मार्ने फैसला ‘अन द स्पट’ लिइएको बताइएको छ । डोनल्ड ट्रम्प मध्यपूर्वमा युद्धको विरुद्ध देखिएका छन् । २०१६–०१७ मा आप्mनो चुनावी प्रचारप्रसारका दौरान उनले युद्ध लड्दा पैसा बरबाद हुने बताइसकेका थिए ।
सुलेमानी मारिएपछि महाअभियोगको समाचारले टेलिभिजन कभरेज नपाउँदा ट्रम्पलाई एक प्रकारको लाभ पुगेको अमेरिकाको डेलावेयर युनिभर्सिटीका प्रोफेसर मुक्तदर खानको भनाइ छ ।
“अहिले टीभीको ध्यान केवल इरानमाथि छ । यसका साथै रिपब्लिकन पार्टीमा डोनल्ड ट्रम्पलाई लिएर स्वीकृति ९५ प्रतिशत पुगिसेकको छ । युक्रेनी विमान खसालिएपछि इरानमा विरोध प्रदर्शन तीव्र हुन पुगेको छ । जसका कारण इरान अमेरिकाका साथ नयाँ सम्झौता गर्नका लागि बाध्य हुन सक्छ । पछिल्लो परमाणु सम्झौताभन्दा पनि मजबुत सम्झौता यो पटक भयो भने यो अमेरिकाका लागि एउटा जीतजस्तै हुनेछ,” उनले भने ।
सम्झौता नभए पनि ट्रम्पले आगामी चुनाव प्रचारमा यसको लाभ लिने प्रयास गर्ने निश्चितप्रायः रहेको खानको दाबी छ । “उनी चुनावमा बराक ओबामाले ओसामा विन लादेनलाई मारेका थिए तर, मैले सुलेमानी र बगदादी दुवैलाई मारेको छु भन्ने छन् । आफू वर्ग सुरक्षाका लागि अत्यन्तै चिन्तित रहेको देखाउन ट्रम्पसँग धेरै कुराहरू छन्,” उनले भने । बीबीसी