logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंकाली गृहयुद्धको घाउ : ‘युद्धमा बेपत्ता २० हजार मारिए’


अंकुरण खबर
1.625K
Shares

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको पहिलो पटक स्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसँगको भेटमा राजपक्षले सो स्वीकार गरेका हुन् । सो कार्यलयले जारी गरेको वक्तव्यमा आवश्यक ‌औपचारिकता पूरा गरेपछि ती व्यक्तिहरूको मृत्यु प्रमाणपत्र बन्ने जनाइएको छ।

श्रीलंकाको उत्तर र पूर्वी भागमा सयौं परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

धेरैले सन् २००९ मा गृहयुद्ध अन्त्य हुने बेला सेनासामु आत्मसमर्पण गरेका बेपत्ता व्यक्तिहरू सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा लिएका छन् । सरकारले भने त्यसलाई अस्वीकार गर्दैै आएको छ ।

श्रीलंकाको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएपछि २६ वर्ष लामो द्वन्द्व समाप्त भएको थियो । बौद्ध सिंहाला बाहुल्यता रहेको श्रीलंकामा हिन्दू तमिलहरूले छुट्टै राज्यको माग गर्दै आएका थिए ।

सो द्वन्द्वका क्रममा करिब १ लाख मारिएका थिए भने २० हजार बेपत्ता छन् । राष्ट्रपति राजपक्ष सन् २००९ मा गृहयुद्ध अन्त्य भएको समयमा रक्षा मन्त्री थिए । उनले तमिल विद्रोह दबाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

तमिल विद्रोहीहरूलाई आत्मसमर्पणपछि र हिरासतमा हत्या गरेको थुप्रै विवरणहरू सार्वजनिक भएका छन् ।

राष्ट्रपति राजपक्षले संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगरसँगको भेटपछि जारी गरेको वक्तव्यमा धेरैजस्तो बेपत्ताहरू तमिल टाइगर्सले भर्ती गरेको बताइएको छ। एजेन्सी