logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७३ वर्षमा जुम्ल्याहा बच्चा जन्माएपछि…


अंकुरण खबर
1.079K
Shares

भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

७३ वर्षमा जुम्ल्याहा बच्चालाई जन्म दिने ती महिलाको नाम हो, येरामति मंगायम्मा । उनले बुधबार विहान सिजेरियल (अपरेसन)बाट यी दुई बच्चालाई जन्म दिएकी हुन् । ‘दुवै स्वास्थ्य राम्रो छ,’ यो अपरेसन गरेका चिकित्सकले बताएका छन्, ‘दुई छोरी अब २१ दिन अस्पतालमा नै चिकित्सकको निगरानीमा हुनेछन् ।’

अहिलेसम्म विश्वमा नै सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना यसलाई मान्न सकिन्छ । यसअघि स्पेनकी मारिया डेल मार्केन लाराले २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसो त, भारतकै ओमकारी पनवारको नाममा यो रेकर्ड रहेको पनि अनुमान गरिन्छ । उनले २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

दुई छोरी जन्माएपछि येरामति निकै खुसी छिन् । ‘मानिसहरु मलाई निसन्तान महिला भन्ने गर्थे,’ उनले भनेकी छिन्, ‘मैले निकै दुःख सहेँ र अहिले बच्चाहरु जन्माउने फैसला गरेँ । मेरा लागि जीवनको सबैभन्दा खुसीको क्षण नै यही हो ।’ ‘अब त म पनि खुसी भएको छु, यो सब यहाँका चिकित्सकहरुका कारण सम्भव भएको हो,’ उनका पतिले भनेका छन्, ‘हामीले यही अस्पतालमा ९ महिना बितायौँ, अब हामी निकै खुसी भएका छौँ ।’

यी दुईको विवाह २२ मार्च १९६२ मा भएको थियो । एजेन्सी