एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३ सय २३ जना भारतीय र ७ जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ ।
कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६ सय ४७ जना पुगेको छ । उहानबाट आइतबार बिहान ३.१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो ।
आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे ।
चीनको उहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भइसकेको छ ।
चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । एजेन्सी