कोरोना भाइरसको त्रासले एक भारतीय नागरिकले आत्महत्या गरेका छन् ।
आन्ध्रप्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोना भाइरस संक्रमित भएको आशंकामा आत्महत्या गरेको भारतीय समाचारमाध्यम आजतकले जनाएको छ ।
बालाकृष्णैयालाई आफू कोरोना संक्रमित रहेको, अब कुनै उपचार नभएको र रोग फैलने डरले उनले आत्महत्या गरेको परिवारले जनाएका छन् ।
५४ वर्षीय बालाकृष्णैयाले शनिबार रुइया सरकारी अस्पतालमा गएर चेकजाँच गराएका थिए । परीक्षणका क्रममा उनलाई यूरिनरी ट्रैक्ट इन्फेक्शन भएको पत्ता लाग्यो । कुराकानीकै क्रममा यो कोरोना भाइरसको संक्रमणले हुन सक्ने चिकित्सकले बताएपछि उनले आत्महत्या गरेको बताइएको छ ।
बालाकृष्णैयाका छोराले आफूले बाबुलाई धेरै सम्झाउन कोसिस गरेको, उनलाई कोरोना भाइरस संक्रमण नभएको बताएपछि शान्त भएको तर पछि यस्तो घटना भएको समाचारमाध्यमलाई जानकारी दिएका छन् । बालाकृष्णैयाले आफूलाई पक्कै पनि कोरोना भाइरस नै लागेको भन्दै आफ्नै ज्यान लिएका हुन् ।