हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ ।
मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।
प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो घटना हङकङमा अपराध बढी हुने भनेर चिनिएको स्थानमा भएको बताइएको छ ।
लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु तेस्र्याएर ६ सय रोल ट्वाइलेट पेपर लुटेका हुन् । हङकङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ ।
सरकारले आपूर्ति सहज भएको दाबी गरे पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर भण्डारण गरिरहेका छन् । एजेन्सी