logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा बाढीका कारण १० हजार बढी मानिस विस्थापित


अंकुरण खबर
949
Shares

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिए ।

उनले जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपतकालीन राहत सहायता प्रदान गरिएको छ । प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको पनि जानकारी दिए ।

प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए ।

इन्डोनेसियाको जलवायू विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीप सहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए । विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ । एजेन्सी