आइतबारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ ।
अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तरपूर्वी भागमा छिटफुट हिंसा भइरहेको छ । हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन् ।
आइतबार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो । बुधबार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन् ।
बिहीबार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ । न्यायाधीश मुरलीधरले धार्मिक दङ्गाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधबार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए ।