कोरोना भाइरसबाट वृद्धवृद्धाहरु सबैभन्दा बढी प्रभावित भइरहेका बेला सबै उमेर समूहका मानिसमा जोखिम देखिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण बेल्जियममा १२ वर्षीय बालिका र बेलायतमा १३ वर्षीय बालकको मृत्यु भएको हो । उनीहरु कोरोना भाइरसका कारण ज्यान गुमाउने सबैभन्दा कम उमेरका बालबालिका हुन् ।
यसअघि स्पेनमा एक जना २१ वर्षीय युवकको मृत्यु भएको थियो । तर उनलाई कोरोनासँगै रगतको क्यान्सर भएका कारण बचाउन नसकिएको चिकित्सकहरुले बताएका थिए ।
विश्व स्वास्थ्य संगठनले दुई साता अघि नै युवाहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएको थियो । बेल्जियमको स्वास्थ्य सेवाले नियमित पत्रकार सम्मेलनमा १२ वर्षीय बालिकाको पनि कोरोना भाइरसका कारण मृत्यु भएको जानकारी दिएको हो ।
‘यो भावनात्मक रुपमा निकै कठिन क्षण हो र कोरोना भाइरसबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ । यसबाट चिकित्सा क्षेत्र र वैज्ञानिक समुदाय आश्चर्यचकित बनेका छौं,’ स्वास्थ्य सेवाका प्रवक्ता इमानुएल आन्द्रेले भने, ‘हामी उनको परिवार र साथीहरुलाई सम्झिरहेका छौं । यो निकै दुर्लभ घटना हो । तर यसले हामीलाई अत्यन्तै दुःखी बनाएको छ ।’
ती बालिकामा तीन दिनदेखि ज्वरो आएको र परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पाइएको थियो । ती बालिकाबारे थप कुनै जानकारी दिइएको छैन । कोरोना भाइरसकै कारण बेल्जियममा एक ३० वर्षीय नर्सको मृत्यु भएको थियो ।
यता बेलायतको लण्डन कजेल अस्पतालमा उपचाररत एक १३ वर्षीय बालकको पनि कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।
अस्पतालका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुःखको कुरा १३ वर्षीय बालकको कोरोना भाइरसका कारण निधन भएको छ । हामी यो दुःखको क्षणमा परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।’
उनले भने, ‘यो घटनाले हामी निकै अप्ठेरो अवस्थामा धकेलिएका छौं भन्ने देखाएको छ ।’ गत साता फ्रान्सेली अधिकारीहरुले १६ वर्षीय किशोरीको पेरिसस्थित अस्पतालमा मृत्यु भएको पुष्टि गरेका थिए । एजेन्सी