उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना भाइरसका कुनै घटना नरहेको जनाएको छ । भाइरसको सावधानीलाई लिएर सीमामा निकै कडाई गरेको उत्तरले देशभित्रै विभिन्न नियम जारी गरेको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोनाबाट बच्न के गर्नुपर्छ भन्नेबारे नागरिकहरुलाई विभिन्न निर्देशन दिइएको छ। एन्टिभाइरल लगायतका औषधी चिकित्सकको सल्लाहबिना नखान भनिएको छ। रोग प्रतिरोध क्षमता कम गर्ने भन्दै मानिसहरूलाई रक्सी नपिउन सुझाव दिइएको छ।
मानिसहरूलाई परम्परागत उपचारको अनुसरण गर्न भनिएको छ, जसले रोग प्रतिरोधी क्षमतालाई मजबुत गर्दछ। सरकारले मानिसहरूलाई खाना र पेय पदार्थमा अधिक मात्रामा लसुन, प्याज र मह मिसाएर खान आग्रह गरेको छ। साथै अनिवार्य रुपमा मास्क लगाउन पनि सल्लाह दिएको छ।
लसुन लगायतका खानेकुराले रोगप्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले यसको प्रयोगमा जोड दिइएको बताइएको छ। हालसम्म विश्वभर कोरोनाको कुनै औषधी छैन। यस्तो बेला उत्तरले आफ्ना नागरिकलाई कोरोनाको औषधी भन्दै यस्तौ सुझाव दिएको हो।
लसुनको सेवन:
लसुन खाएर कोरोना भाइरसको प्रभावलाई हटाउन सकिने उत्तरको यो सुझाव धेरैलाई अनौठो लागेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार लसुन राम्रो र स्वस्थ खानेकुरामा पर्छ। यसले धेरै रोगहरूसँग लड्ने क्षमता समेत बढाउँछ। तर,लसुन खानाले कोरोना भाइरसको प्रभावलाई हटाउन सकिन्छ भन्ने कुराको कुनै प्रमाण छैन।
लसुन खानाले कसैलाई हानी भने गर्दैन। कोरोना भाइरस लाग्न नदिने भन्दै बढि खाए पक्कै पनि स्वास्थ्यलाई असर गर्न सक्छ।